• Saturday 17th of October 2026

अब स्वीकृति नलिइ काठमाडौंका रूखमा झिलिमिली बत्ती राख्न नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाभित्र अबदेखि रूखमा बत्ती राख्न नपाइने भएको छ।

पछिल्लो समय निजी घरका, सार्वजनिक स्थानका र होटल तथा रेष्ट‍ुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने गरिएको थियो।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ।

आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएसँगै अब महानगरभित्रका रूखमा बत्ति राख्न पाइने छैन।

महानगरको कानुन विभागका प्रमुख वसन्त आचार्यले मापदण्ड बनेसँगै अबदेखि कुनै पनि व्यक्ति वा संस्थाले सार्वजनिक र निजी स्थानका रूखमा लहरे बत्ती प्रयोग गर्न नपाउने बताए।

‘मापदण्डको दफा २ मा महानगरभित्रको सार्वजनिक स्थल तथा निजी स्वामित्वमा रहेका रूख विरूवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न पाइँदैन,’ उनले भने।

यस्तै सहरी सौन्दर्यका लागि ‘रोप स्ट्रिट लाइट’ र ‘स्ट्रिट लाइट’हरू राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी राख्नुपर्नेछ छ।

बत्ती राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ। यी बाहेक अन्य ठाउँमा राख्नुपरे वातावरण विभागबाट स्वीकृति लिनुपर्ने र स्वीकृति दिँदा प्राविधिक पक्ष हेरिने छ। अनुमति बढीमा सात दिनसम्मका लागि दिइने छ।

स्वीकृति दिँदा बत्तीको गुणस्तर, पावर र अन्यलाई क्षति पुग्न नहुने बताइएको छ। त्यस्तै बत्तीको रङ र रेन्ज कति हुन्छ भनेर समेत ख्याल गरिने जनाइने छ।

अनुगमन गर्दा मापदण्ड विपरीत भएका बत्तीहरू महानगरले जफत गरी कानुनअनुसार जरिवाना गर्न सक्नेछ। तर जात्रा पर्वमा यस्ता बत्ती राख्न केही समयका लागि छुट दिइने छ भने अनुमति पनि लिनुपर्नेछैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖