काठमाडौं । २६ दिनअघि काठमाडौंको शंखरापुर–१, इन्द्रायणीमा कार दुर्घटना गराएर गर्भवती महिलासहित पतिको ज्यान लिएका प्रकाश भुजेल जेल पुगेपछि पनि आफूलाई सुधार्ने कुनै संकेत देखाएका छैनन् ।
अदालतको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षको लागि थुनामा पठाइएका ‘भाइरल झाँक्री’ भुजेलले जेलभित्रै पूजापाठ र झारफुक सुरु गरेका हुन् ।
परिवारले भुजेलका लागि आइतबारै लगाउने कपडा, सुत्ने कपडासँगै धुपबत्ती र पूजाका सामग्री पठाएका थिए । उनले यसअघि २५ दिनसम्म प्रहरी वृत्त बौद्धमा रहँदा भने पूजापाठ गर्ने ठाउँ पाएका थिएनन् ।
अहिले जेल पुगेपछि भुजेललाई भेट्न गएका परिवारका सदस्यका अनुसार उनी पुरानै पेसामा फर्किएका छन् ।
ती सदस्यले भने, ‘उहाँले बौद्ध प्रहरी हिरासतमा ठाउँ नपाएर पूजापाठ रोकिएको थियो । जेलमा फेरि पूजापाठ धर्मकर्म सुरु गर्नुभएको छ । चिसोले बिरामी परेका कैदीबन्दीलाई ‘निको पार्ने’ प्रयास गर्छु पनि भन्नुभएको छ।’
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार भुजेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
थुनछेक बहसमा भुजेलले लापरबाहीपूर्वक सवारी चलाएका कारण दुई जनाको ज्यान गएको भन्दै न्यायाधीशले उनलाई कारागार पठाउन आदेश दिएका थिए ।
गत कात्तिक २८ मा बा १९ प २६९५ नम्बरको कार चलाउँदै भुजेलले तीव्र गतिमा सवारी चलाएर बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए ।
दुर्घटनामा कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी गर्भवती पत्नी ३२ वर्षीय सानुमाया नगरकोटीको मृत्यु भएको थियो ।
प्रहरीले भुजेलविरुद्ध सवारी ज्यान मुद्दा चलाएको छ ।
