• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसरी खस्यो विष्णुमतिमा कार ! चालक हामफाले, झन्डै डेढ किलोमिटर बगेपछि महिलाको उद्धार


  • धनकुटा खबर
  • .

विष्णुमति खोलाले बगाएको कारमा सवार एक जना महिलाको उद्धार भएको छ।

गएराति १०:१० बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको कार खसेको थियो।

खोला किनारको सडकमा गुडिरहेको बा.प्र.०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए।

कारभित्र दाङको तुलसीपुर घर भइ हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली सवार थिइन्। गएरातिको वर्षाका कारण विष्णुमति खोलाको बहाब बढेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएका थिए। खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको थियो।

त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको एसपी बोहराले जानकारी दिए। उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।

खोलामा खसेको कार राति नै क्रेनको सहायताले निकालिएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार एउटा गाडीलाई साइड दिने क्रममा माटो भासिएर कार खोलामा खसेको थियो।

विष्णुमतिमा उक्त कार अन्दाजी १.५ किलोमिटर बगाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖