काठमाडौं । गत महिना भारतको अहमदाबादमा भएको एयर इन्डिया एआई १७१ विमान दुर्घटना भएको ३८ घण्टापछि एयर इन्डियाको अर्को विमानले सम्भावित खतरा टारेको खुलासा भएको छ ।
दिल्लीबाट भियना उडेको एयर इन्डियाको बोइङ ७७७ विमानले उडानको प्रारम्भिक चरणमै करिब ९०० फिटको उचाइ गुमाएपछि ग्राउण्ड प्रोक्सिमिटी वार्निङ सिस्टम (जीपीडब्लुएस) बाट ‘डन्ट सिन्क’ चेतावनी आएको खुलेको हो।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार पाइलटहरूले विमानलाई स्थिर बनाएर उडान सुरक्षित रूपमा भियनासम्म पूरा गरेका छन् । यस घटनाको बारेमा छानबिन सुरु गरिएको छ भने छानबिन नसकिँदासम्मका लागि पाइलट र को-पाइलट दुवैलाई ड्युटीबाट हटाइएको छ।
के भएको थियो ?
एआई १८७ बोइङ ७७७ जहाजले जुन १४ को बिहान २:५६ मा दिल्लीबाट उडान भरेको थियो। त्यतिबेला दिल्लीमा मेघगर्जन र चट्याङसहितको मौसम थियो।
टाइम्स अफ इन्डियासँग कुराकानी गर्ने एक अधिकारीले बताएअनुसार विमान ‘स्टीक शेकर’ र ‘जीपीडब्लुएस’को चेतावनीमा परेको थियो। उडानपछि शेकर र दुईपटक जीपीडब्लुएसबाट विमानको उचाइ गुमेको सन्देश आयो।
एक पटक स्टल चेतावनी पनि देखिएको थियो। करिब ९०० फिटको उचाइ घटेको थियो। तर चालक दलले विमानलाई पुनः नियन्त्रणमा ल्याएर उडान सफलतापूर्वक भियनासम्म पूरा गरे।
स्टीक शेकर प्रणाली पाइलटलाई विमान खतरामा रहेको संकेत दिनका लागि कन्ट्रोल कन्फिगरेसन हल्लाउने र ककपिटमा ठूलो आवाज निकाल्ने सुरक्षा प्रविधि हो।
उक्त ९ घण्टा ८ मिनेट लामो उडानपछि विमानले युरोपमा प्राविधिक रोक लिएको थियो र त्यसपछि नयाँ चालक दलसहित टोरन्टोको लागि अघि बढेको थियो।
तर, दिल्ली–भियना खण्डको प्रारम्भिक रिपोर्टमा भने ‘उडानपछि हुर्किएको हावाले उक्त शेकर सक्रिय भएको’ भनेर उल्लेख गरिएको थियो। यद्यपी, अहमदाबाद दुर्घटनापछि कडाइ गरिएको निगरानी अन्तर्गत फ्लाइट डाटा रेकर्डरको समीक्षा गर्दा अन्य चेतावनीहरू — जस्तै ‘स्टल’ र ‘डन्ट सिन्क’ पनि देखिएको पुष्टि भएको हो।
गत जुन १२ मा एयर इन्डियाको एआई १७१ जहाजले अहमदाबादबाट उडान भरेको केही बेरमै दुर्घटना भएको थियो, जसमा २४१ जना यात्रु र चालक दल सदस्यहरूको ज्यान गएको थियो।
