• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाका यी नेताले गरे पार्टीकै बदनाम, बौद्धको घटनाले पुगे प्रहरी खोरमा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काभ्रेका नेता छेवाङ योञ्जन तामाङ अहिले प्रहरीकाे थुनामा छन्। काठमाडौंको बौद्धस्थित एक होटलमा लुटपाट गर्ने उद्देश्यले एक हिरा व्यापारीमाथि खुकुरी प्रहार गर्दा उनी प्रहरीकाे खाेरमा पुगेका हुन्।

असार १३ गते बेलुकी करिब साढे ४ बजे बौद्ध सान्धाराचोक नजिक रहेको बौद्धनाथ होटलमा भएको झगडामा काभ्रेकाे महाभारत गाउँपालिका- २ का छेवाङ योञ्जनले धारिलो हतियार प्रयोग गरेका थिए।

घटनामा हुम्लाकाे सिमीकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको बालुवाखानी, कपनमा बसोबास गर्दै आएका ४७ वर्षीय यसेलो डोइ लामा घाइते भएका थिए। लामा गम्भीर रूपमा घाइते भई टाउको र दाहिने हातमा चोट लागेको छ। उनलाई स्तुपा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

झगडापछि घटनास्थलबाट धारिलो हतियार (खुकुरी) बरामद गरेकाे थियाे भने रास्वपा काभ्रेका नेता भनिने योञ्जनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियाे। उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न रही फरार रहेका अर्का युवक २२ वर्षीय वाङसु लामालाई पनि असार १७ गते बेलुकी नियन्त्रणमा लिइएको छ। वाङसु लामा काभ्रेको महाभारत गाउँपालिका–१ घर भई हाल बौद्ध बसोबास गर्दै आएका हुन्।

स्राेतका अनुसार घटना रास्वपाका नेता छेवाङ योन्जनको समूह र यसेलो डोइ लामाको समूहबीच भएको खुलेको छ। स्रोतका अनुसार यसेलो समूहले छेवाङ समूहबाट पैसा लुट्ने प्रयास गर्दा दुबै समूहबीच विवाद भएको हो। उता छेवाङ समूहले यसेलो समूहबाट हिरा लुट्ने प्रयास गर्दा झगडा भएकाे बुझिएको छ।

छेवाङ पहिलेदेखि नै विवादमा आइरहने पात्र हुन् । झै–झगडा लुटपाट उनका लागि सामान्य भएको भन्दै काभ्रेमा चर्चा चल्ने गर्छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖