• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अस्पतालभित्र कुख्यात ग्याङस्टरको गोली हानी हत्या, सिसिटिभी फुटेज सार्वजनिक


  • धनकुटा खबर
  • .

पटना । पटनास्थित पारस अस्पतालमा अपराधी चन्दन मिश्रा (उर्फ चन्दन सिंह) माथि भएको गोली प्रहारको सनसनीपूर्ण सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक फुटेजमा पाँच जना सशस्त्र युवकहरू अस्पतालको कोरिडोर हुँदै सहज रूपमा हिँड्दै आएका देखिन्छन्। उनीहरूले आफ्ना सर्टभित्र लुकाएका पेस्तोल निकालेर कोठा नम्बर २०९ प्रवेश गर्छन् — जहाँ चन्दन मिश्रा उपचारका लागि मेडिकल परोलमा राखिएका थिए।

भिडियोमा ती मध्ये चार जना कोठा प्रवेश गरेपछि केही सेकेन्डमै हतारिँदै निस्केको देखिन्छ । एक जना भने पछि ढिलो निस्कँदै कोरिडोरमा अन्य कोठाबाट निस्केर हेरिरहेका व्यक्तिलाई गम्भीर दृष्टिले हेरेर जान्छ।

भित्र कति गोली चले, कसले चलायो भन्ने कुरा सिसिटिभी फुटेजबाट प्रष्ट छैन। तर चन्दन मिश्रा गम्भीर घाइते भएका थिए । पछि उनको मृत्यु भयो।

घटनापछि बिहीबार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको र चार जनाको पहिचान भइसकेको जानकारी प्राप्त भएको छ। यद्यपि औपचारिक रूपमा पक्राउको पुष्टि भएको छैन।

पटना केन्द्रीय क्षेत्रका प्रहरी महानिरीक्षक जितेन्द्र राणाका अनुसार, प्रहरी सुरक्षाकर्मीहरू नै घटनामा संलग्न थिए भन्ने सम्भावना पनि नकार्न नसकिने बताए । ‘हामी यो कोणबाट पनि छानबिन गर्नेछौँ,’ उनले भने ।

चन्दन मिश्रा एक कुख्यात ग्याङस्टर थिए जसलाई सन् २०१४ मा कोलकाताबाट पक्राउ गरिएको थियो। उनीमाथि हत्या, बैंक डकैती, लुटपाट लगायत २० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन्।

उनले व्यापारी राजेन्द्र केशरीको सन् २०११ मा हत्या गरेका थिए। सो घटनामा उनलाई जिल्ला अदालतले मृत्युदण्ड सुनाएको थियो, तर २०२० फेब्रुअरी १२ मा पटना उच्च अदालतले सजाय घटाएर आजीवन कारावासमा परिवर्तन गर्‍यो।

हाल उनी बक्सर निवासी थिए र पछिल्लो समय १५ दिने मेडिकल परोलमा जेलबाट छुटेका थिए। उक्त परोल जुलाई १८ मा सकिन लागेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖