• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पति हुँदाहुँदै मायाले प्रेमीलाई घरमा बोलाएपछि जे भयो


  • धनकुटा खबर
  • .

कञ्चनपुर- झण्डै चार महिनाअघि कञ्चनपुरको लालझाडी गाउँपालिका–४, जाई सिगलपट्टी शिविरका रामरेशर राना मृत अवस्थामा भेटिएका थिए। भारतमा मजदुरी गरेर फर्केका उनी २७ वैशाख २०८२ मा घरनजिकै सडक छेउमा मृत भेटिएपछि यो घटना रहस्यमय बन्यो।

प्रहरी अनुसन्धानपछि अब त्यो रहस्य खुलिसकेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानाको हत्या भएको पुष्टि भएको छ र हत्यामा संलग्नको रूपमा श्रीमती माया चौधरी, उनका प्रेमी पुन्ना राना (बेलौरी नगरपालिका–४) र मानमती चौधरी (लालझाडी गाउँपालिका–४) पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहरा भन्छन्, “तीनै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। उनीहरूले अपराध स्वीकार गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको हो।”

हत्या हुनुको मुख्य कारण माया र पुन्नाबीचको अनैतिक सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ।

प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार, १६ वैशाखमा रामरेशरले पुन्नालाई आफ्नै घरमा मायासँग देखेपछि झगडा भएको, त्यसक्रममा बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गरिएको थियो। पुन्नाले दिएको बयानअनुसार त्यही प्रहारले उनको ज्यान गएको हो।

त्यसपछि रामरेशरको शवलाई घरबाट सडक छेउमा लैजाने काममा माया र मानमतीले सहयोग गरेको पनि अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत कञ्चनपुरले २६ असारमा पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। माया र मानमतीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पनि धरौटी नबुझाएपछि दुवैजना कारागार चलान भएका छन्।

प्रहरीका अनुसार, परपुरुषसँगको सम्बन्ध नै यस घटनाको मूल कारण बन्यो र त्यसले रानाको ज्यान लियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖