• Tuesday 27th of October 2026

उडेको १० मिनेटमै बुद्ध एयरको जहाज आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको एटीआर-७२ जहाज उडेको १० मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। जहाजमा इन्डिकेसन प्रोब्लम देखिएपछि सुरक्षाका कारण आकस्मिक अवतरण गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा उडानको केही समयमै हाइड्रोलिक सम्बन्धी संकेत देखिएको थियो। “धादिङतिर पुगेपछि पाइलटले इन्डिकेसन प्रोब्लम देखेपछि फर्काएर काठमाडौँ ल्याण्ड गरिएको हो,” उनले प्रशासनसँग भने, “चेकजाँचपछि समस्या गम्भीर नभएको पुष्टि भएपछि जहाज पुनः उडाइएको छ।”

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दिपेन्द्र कर्णका अनुसार उक्त जहाज दिउँसो ३:१५ बजे धनगढीका लागि उडेको थियो। जहाजमा ४० जना बढी यात्रु सवार थिए। समस्या देखिएसँगै तुरुन्तै फर्काइएको र यात्रुहरूलाई अर्को उडानमार्फत गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए।

क्यानको प्राविधिक टोलीले जहाजको प्रारम्भिक परीक्षण गर्दा गम्भीर समस्या नभएको पुष्टि भएको र त्यसपछि जहाजलाई नियमित उडानमा फर्काइएको जनाइएको छ।

भुलका अनुसार, “यो कुनै सिरियस समस्या होइन, सामान्य इन्डिकेसन प्रोब्लम थियो। प्राविधिक परीक्षणपछि जहाज पुनः सेवा सञ्चालनमा फर्किसकेको छ।”

बुद्ध एयरको एटीआर-७२ जहाज डबल इन्जिन टर्बोप्रोप श्रेणीअन्तर्गतको हो, जसले छोटा तथा मध्यम दूरीका गन्तव्यमा नियमित सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖