• Tuesday 27th of October 2026

एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गरेन, पार्टी अध्यक्ष बन्ने ‘च्याप्टर क्लोज’


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ साउन । नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न अस्वीकार गरेको छ । पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरा उपयुक्त नहुने निष्कर्षसहित पार्टी सदस्यता नवीकरणलाई अस्वीकार गरिएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

‘हिजोको बैठकबाट हामीले एउटा निष्कर्ष निकालेका छौं । उहाँको जे भूमिका मुलुकको लागि आवश्यक ठानिएको छ, त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किने कुरा उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालिसकेपछि सदस्यताको विषय स्वतः निष्कृय भएको छ । त्यस अर्थमा सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’– उनले भने ।

साथै, नेपालको लोकतान्त्रिक गणतन्त्रको इतिहासमा पूर्वराष्ट्रपति भण्डारीको भूमिका अत्यन्त महत्वपूर्ण र प्रशंसायोग्य रहेको उनले बताए । एमालेले पूर्व राष्ट्रपति भण्डारीको भूमिकाको उच्च कदर गर्दै आएको पनि महासचिव पोखरेलेले बताए । भण्डारीको भूमिकाको कदर गर्दै कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवको अवसरमा गणतन्त्र गौरवद्वारा उनलाई सम्मानित गरेको पनि उनले स्मरण गरे ।

पूर्व राष्ट्रपतिको रुपमा रहेको व्यक्तित्वलाई नेपालको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, सवल बनाउने कुरामा, राष्ट्रलाई एकतावद्ध बनाउने कुरामा, कुनै बेला राजनीतिक संकट उत्पन्न भएका बेलामा अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तित्वको रुपमा सुरक्षित राख्नुपर्ने पार्टीको मान्यता रहेको पनि बताए ।

‘पूर्व राष्ट्रपतिहरु राष्ट्रपति संस्थालाई बलियो बनाउने कुरामा, गणतन्त्रलाई बलियो बनाउने कुरामा, लोकतन्त्रलाई सवल बनाउने कुरामा योगदान गर्न सक्नुहुन्छ र समाजलाई जोड्न सक्नुहुन्छ भन्ने मान्यताका आधारमा हामी निष्कर्षमा पुगेका छौं । यो भूमिकामा हुने भएपछि अन्य भूमिकाको बारेमा चर्चा गर्नै परेन नि,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖