• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टोखाबाट बरामद गरिएको २५ करोड प्रकरणका धनी नारायण पौडेल धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलरका धनी नारायण पौडेललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्माले असार ३२ मा उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

अदालतमा हाजिर भएका पौडेललाई इजलासले ३५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले रातोपाटीलाई बताए । धरौटी बुझाएर उनी छुटेका छन् ।

पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का स्थानीय हुन् । राजस्व अनुसन्धान विभागले पौडेल र ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’ लाई प्रतिवादी बनाएर वैशाख २ मा मुद्दा दायर गरेको थियो ।

२०८१ चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना.७ ख १६५२ नम्बरको ट्रकबाट सो नगद बरामद गरेको थियो ।

ट्रक चालक कुसाङ पनि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । विभागले उनीहरू विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गतको कसुरमा २५ करोड ३४ लाख ७८ हजार बिगो मागदावी गरेको थियो ।

टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका पौडेल पुराना ‘खासा व्यापारी’ हुन् । खासा व्यापार गर्दागर्दै तिब्बतीयनसँग विवाह गरेका पौडेलले पछि सुन तस्करी सुरु गरे । २०७२ पछि तातोपानी नाका बन्द भयो । त्यसपछि सुन तस्करले रसुवाको केरुङ रुटलाई प्रयोग गर्न थालेका हुन् ।

पौडेलले दिएको २५ करोड बराबरको डलर र युरो लिएर फुच्चे झोर महांकाल हुँदै केरुङ जाँदै थिए । केरुङ नाकाबाट सुन ल्याउने उनीहरुको योजना रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ती अधिकृत भन्छन्, ‘२५ करोड रकम सुन खरिद गर्न केरुङ लगिँदै थियो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖