भैरहवाको ४० डिग्रीको प्रचण्ड गर्मी। दिउँसो करिब ४ बजेतिर म उहाँलाई भेट्न जेलभित्र पुगेँ। सुरुमा लाग्यो – “रवि शायद भित्र कुनै शीतल कोठामा बसिरहनु भएको होला।”
तर मेरो नजर गेटबाट करिब ५०० मिटर टाढा अवस्थित पुरानो, धुलाम्य, ८/८ फुटको कुखुराको खोरजस्तो फलामको जेलमा अडियो। बाहिर लामो बेञ्च, वरिपरि धुलो र घामको निर्दय तातो।
उहाँ गाढा नीलो टी–शर्ट, गाढा नीलो हाफ प्यान्ट र नाङ्गो खुट्टा लगाएर मुढामा बस्नुभएको थियो। काँधमा सेतो रूमाल थियो, जसले लगातार पसिना पुछिरहनु भएको थियो। अनुहारमा पसिनाको धार भए पनि मुस्कान यथावत् थियो। ‘नमस्ते’ भन्दै उहाँले स्वागत गर्नुभयो र मैले पनि अभिवादन फर्काएँ।
हामीबीच देशको वर्तमान अवस्थाबारे कुराकानी भयो। उहाँले दृढ स्वरमा भन्नुभयो – “दुःख पाउँदा केही छैन, यो अन्याय धेरै टिक्दैन।” उहाँको आँखामा कुनै डर थिएन, बरु हजारौँ जनताको भरोसा र उज्यालो भविष्यको सपना झल्किरहेको थियो।
मलाई २००९ को बेलायतको अनुभव सम्झना आयो, जब म एम्बुलेन्स चलाउँथेँ र बिरामी कैदीलाई अस्पताल लैजान विभिन्न जेलहरू भित्र जान्थेँ। ती जेलहरू व्यवस्थित र मानविय थिए। तर यहाँको जेलको अवस्था देख्दा मनमा निकै पीडा भयो।
रविले दृढतापूर्वक भने – “म बाहिर बसेर मुद्दा लड्छु भन्दा भन्दै अन्यायपूर्ण तरिकाले यो खोरमा राखिएको छु। मलाई जतिसुकै गाह्रो भए पनि नाटक गरेर अस्पताल भर्ना भइ बस्दिनँ। यदि दोषी करार भए कानुन बमोजिम कैद भुक्तान गर्छु, तर यो अन्यायसँग कहिल्यै र कुनै हालतमा पनि झुक्दिनँ।”
उहाँले प्रश्न गर्नुभयो – “मलाई यो कालकोठरीमा राखेर सरकारले कति जनतालाई न्याय दियो? कति जनाको बचत फिर्ता गर्यो? कुन कुन अपराधीहरू देश–विदेशमा खुल्लम खुल्ला घुमिरहेका छन्, सबैले देखिरहेका छन् तर खोइ कसलाई समात्यो?”
रबी लामिछानेले बिदेशमा रहेर सहानुभूति र समर्थन जनाउँदै साथ दिनुभएका सबै साथीहरूलाई विशेष धन्यवाद दिँदै फेरि भेट्ने वाचा गर्दै छुट्टियौँ।
यसैबीच देश–विदेशबाट करिब ३० लाख हस्ताक्षर समर्थनमा उठिसकेको छ। नयाँ पार्टी जसले “सुशासन सुरु गर्छौं” भनेर सुरु गरेको आन्दोलनलाई राज्यको पर्खालले रोक्न सक्दैन। रवि लामिछाने आज जेलको फलामभित्र छन तर उनको साहस लाखौँ जनताको मुटुमा दियोको उज्यालो बनेर बलिरहेको छ। भ्रष्टहरूको शासन र फलामको पर्खालले विचारलाई कहिल्यै थुनिदैन। यो लडाइँ अब देशको आत्मसम्मान र भविष्यको लडाइँ हो, र यो आवाज अब झन् बुलन्द हुँदैछ।-बेदना प्रकाशन
