• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव सुर्खेतमा फेला


  • धनकुटा खबर
  • .

रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव पनि सुर्खेतमा फेला परेको छ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका डोजर चालक २० वर्षीय हरि विकको शव फेला परेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा शुक्रबार फेला परेको विकको शवको शनिबार बिहान १० बजेतिर उनका बाबुले सनाखत गरेका हुन्।

शुक्रबार नै सुर्खेतको भेरी गंगा नगरपालिका–२ खोजीस्थित भेरी नदीमा दाङका टिपरका चालक मनिराम चौधरीको शव फेला परेको थियो।
टिपरसहित भेरी नदीमा खसेर बेपत्ता तीन जनामध्ये विक र टिपर चालक चौधरीको शव घटनास्थलदेखि झन्डै ६० किलोमिटर भन्दा टाढा फेला परेको हो।

रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनविर बराइलीको अवस्था अज्ञात छ।

भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ।

रूकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरूको खोजी गरिहेका छन्।

रूकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित तीन जना भेरी नदीमा खसेका थिए।

टिपर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं. १४ को छेपारे तर्फ जाँदै थियो।

टिपर भने बुधबार बेलकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖