• Tuesday 27th of October 2026

राजनीतिमा को कहिले जेल पर्छ भन्न सकिन्न : प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसले जेल जानुपर्ने हुन्छ भन्ने निश्चित गर्न नसकिने बताएका छन् । उनले पूर्वाग्रह र प्रतिशोधका कारण पनि नेताहरूमाथि मुद्दा लगाएर जेल हाल्ने काम हुने गरेको उल्लेख गरे ।

आइतबार बालुवाटारमा आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछिको घटनाको स्मरण गर्दै, प्रत्यक्ष प्रतिबन्ध नलगाइए पनि राजनीतिक दल र नेताहरूमाथि कारबाही भएको बताए ।

उनले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध‘ अस्तिमात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि नेताहरूलाई घरघरमा, जेलमा लगेर थुन्ने काम भयो । सरकारी निकायबाट अलग भएका मान्छेले अरूलाई मुद्दा लगाउने, फसाउने काम पनि गरे ।’

प्रधानमन्त्री ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले भ्रष्टाचार विरोधी देखिनका लागि शेरबहादुर देउवाविरुद्ध शाही छानबिन आयोगमार्फत मुद्दा चलाएको पनि स्मरण गरे । उनले सो कार्यलाई ‘ड्रामा’को संज्ञा दिँदै त्यस विरुद्ध संघर्ष गर्नुपरेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गर्दै भने, ‘ वीपी का धेरै आयामहरू छन् । उहाँ विचारका मात्र नभई व्यवहारका पनि नेता हुनुहुन्थ्यो ।’ कार्यक्रममा वीपी कोइरालाको विचार र योगदानबारे पनि अन्य वक्ताहरूले चर्चा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖