• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी पुगेका थिए पोखरा हायु परिवारका १६ जना, भने– त्यहाँ बस्न मन लागेन, नयाँ ठाउँ खोज्दै हिँडेका हौं


  • धनकुटा खबर
  • .

सिन्धुली । सिन्धुलीबाट हराएको हायु परिवार कास्कीको पोखरा महानगरपालिकामा भेटिएको छ। उनीहरूले आफूहरू बस्ने नयाँ ठाउँ खोज्दै हिँडेको प्रहरीलाई बताएका छन्।

सोमबार राति पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना बाँडिएर बसेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला परेको हो।

सोधपुछ क्रममा आफूहरू बस्नका लागि नयाँ ठाउँ खोज्दै शनिबार पोखरा आइपुगेको उनीहरूले बताएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

‘हामीलाई त्यहाँ बस्न मन लागेन, त्यसैले नयाँ खोज्दै हिँडेका हौं,’ एसपी ओलियाले उनीहरूका भनाइ उद्धृत गर्दै भने, ‘ज्यामी काम गरेर खाने मान्छे हौं। त्यहाँ काम पाउन मुस्किल भएपछि हिँडेको बताएका छन्।’

सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बिखर कटेरी छेड्पा बस्ने अन्दाजी ४५ वर्षीया उर्मिला हायुको १६ जनाको परिवार नै हराएको खबर सोमबार प्रहरीकहाँ आएको थियो। अनुसन्धान क्रममा हायु परिवार शनिबार राति नै सिन्धुलीको बलेनी भन्ने ठाउँबाट भ्यान चढेर पोखरा गएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

सो भ्यानका चालक जीवन भनिने नविन विक थिए। उनले शनिबार बिहान एक बजे आफूले चलाउने गरेको मधेस प्रदेश ०४– ००१ ज ००८१ नम्बरको भ्यानमा हायु परिवारलाई राखेको जानकारी दिए। उनीहरूलाई खनियाँखर्क–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुर्‍याएको र लेकसाइडको एक होटलमा छाडेको नवीनले बताए।

प्रहरीले सो होटलमा सम्पर्क गरी बुझ्यो। उनीहरू शनिबारको रात त्यहीँ बसेका थिए। आइतबार निस्किएर गए। जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति ९:२० बजे उनीहरू पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा फेला परेका डिएसपी सुवेदीले जानकारी दिए।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उर्मिला हायुका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि उर्मिलाको परिवार ऋणमा डुबेको थियो।

‘बैंक तथा वित्तीय संस्थाका मानिसहरू ऋण उठाउन पनि पटक–पटक घरमा पुगेका रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने। उनीहरूले हालै भत्ता बुझेको पनि उनले बताए।

हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही चार हजार रूपैयाँ भत्ता दिन्छ। परिवारका उनीहरूले प्रतिव्यक्ति १२ हजार रूपैयाँका दरले (तीन महिनाको) १ लाख ८० हजार रूपैयाँ भत्ता झिक्न वडाबाट साउन ९ गते सिफारिस लगेका थिए।

सोमबार भने गाउँलेले परिवार नै सम्पर्कविहीन भएको खबर प्रहरीकहाँ दिएका थिए। उनीहरूको घर एकान्तमा भएकाले गाउँलेले सोमबार मात्र थाहा पाएका थिए। हायु परिवार घरमा केही बाख्रा, कुकुर यसै छाडेर हिँडेका थिए।

प्रहरीले काठमाडौं बस्दै आकी उनीहरूकी माइली छोरी सुजतासँग सम्पर्क गरेको थियो। तर सुजतालाई पनि परिवार हराएको बारे जानकारी थिएन। यसपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖