काठमाडौँ । बलात्कार पीडित किशोरीले आफ्नो खातामा जम्मा भएको तीन लाख रुपैयाँ धान चामल बेचेर आएको र आफ्नो आमाले जम्मा गरेको रकम भएको दावी गरेकी छिन् ।
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा पीडित किशोरीले आपराधिक लाभबापत २० लाख रुपैयाँ मागेको दाबी गर्दै मुद्दा दर्ता भएको छ । तर, पीडित किशोरीले अहिराजसँगै रकम मागेको कुरा बयानमा खण्डन गरेकी छिन् ।
लक्ष्मी सनराइज बैंकको 0261022038205001 नम्बर रहेको आफ्नै खातामा सप्तरी साविक तिलाठी कोइलाडी गाविस घर भएका बुलबुल यादवले आमालाई दिएको १ लाख २५ हजार रुपैयाँ, होस्टेल र धान चामलको आम्दानीबाट आएको १ लाख ७५ हजार रुपैयाँ गरी जम्मा भएको ३ लाख बैंकमा जम्मा गरेको बयान दिएकी छिन् । अहिराजले पीडित किशोरीलाई ३ लाख नगदै दिएको जाहेरी दिएका थिए ।
४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।
