• Tuesday 27th of October 2026

देउवालाई भेट्न मुख्यमन्त्री लामा काठमाडौँ आउँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउन लागेका छन् ।

बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार काठमाडौँ आउन लागेका हुन् ।

दलको नेताका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदा लामाले १४ मतमात्रै ल्याएका थिए । प्रदेशमा कांग्रेसका ३७ सांसद भएकोमा एक मत बदर भएको थियो ।

आफु काठमाडौँ आउन लागेका लामाले जानकारी दिए । ‘म सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाडौँ आउँदैछु,’ लामाले भने ।

सभापति देउवाले बोलाएर आउन लाग्नुभएको हो भन्ने प्रश्नमा लामाले भने, ‘उहाँले बोलाउनु भएको छैन । म जानकारी गराउन आउन लागेको हुँ ।’

नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा कांग्रेस केन्द्रीय सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको कांग्रेस एमाले बैठकमा पनि बागमती प्रदेश सरकारबारे कुरा उठेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖