• Monday 26th of October 2026

हृदयन्द्रको भिडियोमा देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो : सांसद लामा


  • धनकुटा खबर
  • .

पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनमा जुम्ला यात्राको भ्लग ‘माई ट्रिप टु जुम्ला’ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

उनको सरल स्वभावको प्रशंसा भइरहँदा जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा दिँदै कडा आपत्ति जनाएकी छन्।

लामाले फेसबुकमार्फत हृदयन्द्रको भ्लगलाई राजतन्त्रको झल्को दिने र गणतन्त्रको उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको आरोप लगाएकी छन्। उनले राजतन्त्र कालमा जुम्लामाथि भएको शोषण र क्रूरताको इतिहास स्मरण गर्दै गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्‍याएको दाबी गरिन्।

‘अहिले हृदयन्द्र शाहको भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हो । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्याे । केन्द्रकृत राज्यसत्ताले जुम्ला को जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्थ्यो । जुम्लालाई दूरदराज , रोक भोक र शोकको पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए । विकास के हो जुम्लालाई थाहा थिएन।,’ उनले लेखिन्।

उनले अगाडि लेखेकी छिन्, ‘यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवार कै हुनुपर्ने होइन त यही निरङ्कुशता सामन्ती सोचको विरुद्ध त हाम्रो लडाई छ। गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ। अझै पनि हामीबाट सामन्ती सोच गाको छैन भन्ने युट्युबेको नेतृत्व नै राजावादीले गरेको देखिएको छ! ’

सांसद लामाले जुम्लाको पहिचान र सभ्यतामाथि प्रश्न उठाउँदै स्थानीय ब्लगर सिर्जना सिज्जुजस्ता व्यक्तिको भ्लगलाई प्राथमिकता नदिएकोमा मिडियाप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले सामन्ती सोच र राजतन्त्रको प्रभाव अझै कायम रहेको भन्दै गणतान्त्रिक मूल्यको रक्षा गर्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖