• Monday 26th of October 2026

सरकार गरिब हो, नागरिक छैनन् :शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाल चर्चामा रहेजस्तो गरिब नभएको दाबी गरेका छन्। नवयुग उद्यमशालामा बोल्दै अनौपचारिक अर्थतन्त्रको गणना नगरेकै कारणले जनता धेरै गरिब देखिएको उनको बुझाइ छ।

उनले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन् तर बाहिर गएर विदेशीहरूले भन्दा ज्यादा खर्च गरिरहेका छन्। त्यसैले नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन्। नागरिक गरिब छन् भन्नुको कारण अनौपचारिक अर्थतन्त्रको गणना नगर्दाले हो। अनौपचारिक अर्थतन्त्रको गणना गर्ने हो भने नेपाल चर्चामा रहेजस्तो गरिब होइन।’

राष्ट्र बैंकबाट प्रकाशन हुने सबै तथ्याङ्क पोजेटिभ रहेको उल्लेख गरे।

उनले थपे, ‘राज्य घाटामा छ, बैङ्कहरूमा पैसा थुप्रिएको छ। तर लगानी वृद्धि हुन सकेको छैन। तरलता नियन्त्रण गर्नको लागि राज्यले लगानी गर्नुपरेको छ राष्ट्र बैङ्कको माध्यमबाट। विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने राज्य सन्तुलनमा लगानी गर्न बाध्य छ। राष्ट्र बैंक तरलता सन्तुलन गर्नको लागि लगानी गरिरहेको छ। जे कुरामा लगानी गर्नुपर्ने हो त्यो कुरामा गर्न हामीले सकेका छैनौँ।’

नेपालको अर्थतन्त्र निरन्तर रूपमा प्रगतितिर रहेको भए पनि राज्य अझै बलियो भइनसकेको उल्लेख गरे।

उनले भने, ‘लोकतन्त्रमा राज्य बलियो भएन भने नागरिकहरू बलियो हुन सक्दैनन्। हामी नेपालीहरू कर तिर्न नपरे हुन्थ्यो भन्ने अपेक्षा गर्छौँ। अधिकार खोज्ने, कर्तव्य निर्वाह नगर्ने गर्न मिल्दैन। त्यसैले राज्य जुन रूपमा सक्षम र प्रभावकारी हुनुपर्ने हो हुन सकिरहेको छैन।’

नेपालमा औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली रहेको भन्दै राज्यको नीति र कानुनले पनि अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेको बताए। राष्ट्र बैंक र अर्थ मन्त्रालय प्रभावकारी ढङ्गले काम गर्न चुकेको उनको बुझाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖