प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव भड्किलो भयो र धेरै खर्च भयो भन्ने प्रचार गलत भएको बताएका छन् ।
पैसा खर्च नगरी र बुथ कब्जा नगरी पछिल्ला २ निर्वाचनमा आफूले सर्वाधिक धेरै मत पाएको उनले बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लेखेको पुस्तक ‘लोकतन्त्र र जनअभिमत’ विमोचन समारोहमा प्रधानमन्त्री ओलीले आफूले २०४८ सालको पहिलो चुनावमा २१ हजार रुपैयाँ मात्र खर्च गरेको बताएका हुन् ।
‘पहिलो पल्ट चुनाव लड्दा साथीहरूले ४३ हजार चन्दा उठाएका थिए । २१ हजार निर्वाचनमा खर्च भयो । बसको छतबाट २ जना खसेकाले उपचार गर्दा १२ हजार खर्च भयो, १० हजार बचत रह्यो त्यो पार्टी कोशमा सामेल गरियो,’ ओलीले ३४ वर्ष पुरानो चुनावको स्मरण गर्दै भने ।
चुनाव लड्न जाँदा पार्टीका तत्कालीन महासचिवले २ सय रुपैयाँ दिएको पनि उनले स्मरण गरे । ‘पार्टीका महासचिव माधव नेपालले बाटो खर्च २ सय रुपैयाँ दिनुभएको थियो । १८० रुपैयाँ नाइट बसको भाडा र २० रुपैयाँ खाना खानका लागि छुट्याइएको थियो । खानको पैसा साथीले तिर्यो । त्यो २० रुपैयाँ पनि बच्यो,’ ओलीले भने ।
