धनगढी । कञ्चनपुरमा यातना र मानसिक तनाव दिएर श्रीमतीलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दै एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए ।
भट्टलाई १७ वर्षीय श्रीमती सम्झना भट्टलाई आत्माहत्या गर्न बाध्य पारेको भन्ने किटानी जाहेरीका आधारमा पक्राउ गरिएको बोहराले बताए । उनकाअनुसार सम्झना आइतबार घरमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
६ महिनाअघि पवनसँग प्रेम विवाह गरेकी सम्झनालाई श्रीमानले कुटपिट गरेर यातना दिने तथा अन्य लालछाना लगाएर मानसिक रुपमा समेत तनाव दिने गरेकाले आत्माहत्या गर्न बाध्य पारेको किटानी जोहरीमा उल्लेख गरिएको छ । उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सअपमा म्यासेज पठाउदै श्रीमानले आफूमाथि कुटपिट गरेको उल्लेख गरेकी छन् । उनले आफूमाथि श्रीमानले गर्ने कुटपिट र दिने तनावका कारण आत्माहत्याको बाटो रोज्न लागेको कुरा पनि लेखेकी छन् । उनले अब सहन नसक्ने भन्दै मर्छु भनेर साथीलाई म्यासेज गरेको देखिन्छ । प्रहरीकाअनुसार घटना भएको अघिल्लो दिन उनी श्रीमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।
प्रहरीले उनका श्रीमानलाई बोलाएर सम्झाईबुुझाई गर्दै उप्रान्त श्रीमतीमाथि कुटपिट नगर्ने शर्तमा छाडेको थियो । तर भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् । सम्झनाको पारिवारीक स्रोतकाअनुसार पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन् ।
दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । तर प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ । सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
