काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८ः५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।
वि.सं. २००८ माघ १५ गते जन्मिएका स्वर्गीय बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधान सभाका सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति र नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य पनि थिए।
नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै उनले पार्टीको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
