• Monday 26th of October 2026

रास्वपाप्रति जन मोह, एमालेलाई ठूलै झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं—एमालेका नेताले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न निवेदन दिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनावका लागि रास्वपाले आह्वान गरेको उमेदवार छनोट सूचीमा एमाले स्थानीय नेता पार्थिवेन्द्र उपाध्यायको नाम पनि परेको छ । सूचीको दोस्रो नम्बरमा रहेका उपाध्याय एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा निर्वाचित उमा अधिकारीका श्रीमान् हुन् । उनी एमालेका पूर्वसांसद धनपति उपाध्यायका छोरासमेत हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव निकै रोचक बन्ने देखिएको छ । राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि १७ कात्तिकमा हुने उपचुनावका उम्मेदवारहरूको चर्चाले नै रोचक बनाउन थालेको छ । अहिले उक्त निर्वाचन क्षेत्रलाई कांग्रेस, एमाले, राप्रपा र रास्वपाले प्रतिष्ठाको क्षेत्र बनाएका छन् ।

राप्रपा पुरानो बिरासत जोगाउनुपर्ने बाध्यतामा छ । एमालेको सहयोगमा राप्रपाले जित निकालेका कारण एमाले अहिले राप्रपाबाट उक्त क्षेत्र खोस्न खोजिरहेको छ । यता, कांग्रेसले पनि आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कारण बालकृष्ण खाँणले यो क्षेत्रबाट आफ्नो प्रतिष्ठा फर्काउनुपर्ने बाध्यतामा छन् । अघिल्लो चुनाव भने बोहोरासँग खाँण पराजित भएका थिए ।

त्यसैले अहिले उनी आफैँ उम्मेदवार नबनेको अवस्थामा आफ्नो उम्मेदवारलाई जिताउनुपर्ने दबाबमा छन् । जलले गर्दा अर्को चुनावमा खाँणलाई सहज हुने सम्भावना हुन्छ । अर्कातिर नयाँ दल रास्वपालाई झन् ठूलो प्रतिष्ठाको विषय बनेको छ । इलाम—२ को उपचुनावमा जमानत नै जफत भएपछि रास्वपा दबाबमा छ ।

अर्कातिर सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका कारण उक्त क्षेत्रमा जित निकालेर सार्वजनिक रूपमा छवि सुधार मात्र होइन, प्रमुख दलहरूलाई दबाब दिनुपर्ने बाध्यतामा छ । अर्कातिर लामिछाने रुपन्देहीकै जेलमा छन् । त्यही जिल्लामा पुगेर रास्वपाले संसदीय दलको बैठकमा राखेको थियो । र, अहिले इच्छुकको नाम सार्वजनिक गरेको छ । अहिले सार्वजनिक गरिएका ९ जनाको सूचीले पनि उपचुनाव रोचक हुने संकेत दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖