हेटौंडामा रहेका छोरालाई भेट्न जाँदै गरेका रामेछापका एक दम्पती दुर्घटनामा परेका छन् । दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको डबलक्याप स्कारपियो जीप दुर्घटना हुँदा मन्थली नगरपालिका-११ कि ४१ वर्षीया राधा कार्की चौहानको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
दुर्घटनामा परेको जीप कच्याककुचुक भएको छ । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार दुर्घटनामा राधाका श्रीमान ४६ वर्षीय उत्तम चौहान भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाएको छ ।
बीएससी ९४६३ नम्बरको जीप आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटनामा परेको छ । जीप सडकमा तल खसेको छ । मृतक राधा स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनका छोरा हेटौंडामा थिए ।
चौहान दम्पती छोरालाई भेट्न जाँदै थिए ।
