काठमाडौ । सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा गरिएका सहसचिवहरूलाई मन्त्रालय तथा विभागहरूमा पठाइएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
यो सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ ।
गृह, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन जस्ता मन्त्रालयमा पनि नयाँ सहसचिवहरूले जिम्मेवारी पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सहसचिवहरूको सरुवा भएको छ ।
