• Monday 26th of October 2026

अबको १० वर्षसम्म रास्वपामा द्वन्द्व हुँदैन: डीपी अर्याल


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीमा अबको १० वर्षसम्म कुनै पनि आन्तरिक द्वन्द्व नहुने दाबी गरेका छन्।

पार्टीभित्र विवाद र गुटबन्दी सुरु भएको भन्ने सञ्चारमाध्यमका प्रश्नहरू प्रति लक्षित गर्दै उनले रास्वपा पार्टी निर्माणको क्रममा रहेको र यहाँ कुनै पनि किसिमको द्वन्द्व नरहेको स्पष्ट पारेका हुन्।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले भने, ‘१० वर्ष पछाडि त्यो प्रश्न गर्नुस्, म उत्तर दिन्छु। त्यतिबेलासम्म मेरो पार्टीमा त्यो (द्वन्द्व) हुँदैन।’

नेता दीपक बोहराको पदलाई लिएर चलेको चर्चाबारे स्पष्ट पार्दै उनले मिडियामा आएका भाष्यहरू गलत भएको बताए। उनले भने, ‘दीपक बोहराजी यो पार्टीको बीउ रोप्ने मान्छे हो। उहाँको इमानदारिता र त्यागलाई हामीले सम्मान गर्नुपर्छ।’

अर्यालले बोहराको सह-कोषाध्यक्ष पदबाट राजीनामा प्राविधिक र कानुनी कारणले भएको प्रस्ट्याए। ‘हामीले विधान संशोधन गरेर महाधिवेशनपछि एक जना मात्र सह-कोषाध्यक्ष हुने व्यवस्था गर्‍यौं। निर्वाचन आयोगले विधान अद्यावधिक गर्न दुई जनामध्ये एक जना हटाउनुपर्ने भनेपछि यो प्राविधिक विषय आयो,’ उनले भने, ‘हामी समावेशिताको कुरा गर्छौं, त्यसैले स्थापनाकालदेखिकी सह-कोषाध्यक्ष, महिला तथा आदिवासी जनजाति क्लस्टरकी बसुमाया तामाङजीलाई निरन्तरता दिने र आफूले ससम्मान राजीनामा दिने निर्णय दीपकजीले नै गर्नुभएको हो। उहाँले चौडा छाती देखाउनुभयो।’

त्यसैगरी, बोहरालाई सह-महामन्त्री बनाउने प्रस्ताव केन्द्रीय समितिमा रोकिएको विषयमा पनि उनले खण्डन गरे। ‘हामीसँग तीन सह-महामन्त्री पदमध्ये दुईवटा खाली छ। महिला सह-महामन्त्रीको पद खान खोज्यो भनेर गलत प्रचार गरियो,’ अर्यालले भने, ‘दीपकजी काम गर्ने नेता हो, उहाँलाई काम गर्नका लागि सचिवालयले एकमतले सह-महामन्त्री बनाउन केन्द्रीय समितिमा अनुमोदनका लागि लगेको हो।’

उनले केन्द्रीय समितिका केही सदस्यले यसबारे अझै छलफल गरौँ भनेको विषयलाई द्वन्द्वको रूपमा व्याख्या गर्न नहुने बताए। ‘हामी पार्टी निर्माणको क्रममा छौं, ५० वर्ष भएको पार्टी होइन। एजेन्डाभन्दा बाहिरका कुरामा पनि बहस हुनु स्वाभाविक हो,’ उनले थपे, ‘दीपक बोहरा सह-महामन्त्री बन्ने सम्भावना मजासँग छ।’

अर्यालले पार्टीका सबै पदाधिकारीहरूको वर्तमान जिम्मेवारी महाधिवेशनसम्मका लागि मात्र भएको समेत स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖