• Monday 26th of October 2026

एमालेलक्षित शेखरको टिप्पणी– ‘जहाँ खाली जग्गा, त्यहाँ एमालेको आँखा’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि तीव्र टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले संशोधन प्रस्ताव राख्दा पनि त्यसमा छलफल गर्न नदिइएको आरोप लगाएका हुन् ।

कोइरालाले भने, ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खाली जग्गा देख्छ त्यहाँ आँखा लगाइदिन्छ। यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, लिचीबारी पोखरा, गिरीबन्धु टी–स्टेट हेर्नुस्। जताततै एमालेको मात्रै सुनिन्छ। सङ्घीय मामिला मन्त्रीले राजीनामा दिनुभयो, तर भूमिसुधार मन्त्री अझै जबरजस्ती बसिरहनुभएको छ । कास्की जिल्लाको एमाले कमिटीले भूमिसुधार मन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । बिचौलिया एक जना हुनुहुँदो रहेछ, रेशम चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि के अवस्था हुन्छ देशको ?’

सांसद कोइरालाले सङ्घीय निजामती ऐनमा रहेको ‘कुलिङ अफ पिरियड’मा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप पनि लगाए । उनले भने, ‘यसमा लुकेको केही छैन । अहिलेसम्म हामीले लुकायौँ, अब लुकाउनुपर्ने आवश्यकता छैन । किनभने राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भन्दै संशोधन प्रस्ताव हालिसकेपछि, पत्रकारले सोध्दा हामीलाई माथिल्लो निर्देशन छ भने मात्र भन्न खोजिएको थियो। एमाले त छलकपट गर्दो रहेछ ।’

कोइरालाका यी टिप्पणीले सत्ता साझेदार दलबीचको विवादलाई थप उग्र बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖