तान्जानिया । तान्जानियामा एक व्यक्ति आफ्नो दाहिने निप्पल दुखेको र पिप बगेको गुनासो लिएर अस्पताल जाँदा उनले झण्डै ८ वर्षसम्म छातीभित्र ठूलो चक्कुको ब्लेड बोकेर बाँचिरहेको कुरा पत्ता लाग्दा सबै चकित भए।
४४ वर्षीय ती व्यक्ति सामान्यतया स्वस्थ जीवन बिताइरहेका थिए। करिब १० दिनदेखि निप्पलबाट सेतो पिप बगेपछि उनी मुहिम्बिली नेशनल अस्पताल पुगेका थिए। सुरुमा उनलाई कुनै प्रकारको श्वासप्रश्वास समस्या, खोकी वा ज्वरो थिएन। तर उनले चिकित्सकलाई आठ वर्षअघि भएको हिंसात्मक झगडाको प्रसंग सुनाए, जसमा उनको अनुहार, ढाड, छाती र पेटमा घाउ भएका थिए। त्यतिबेला घाउ निको भए पनि अन्य परीक्षण नभएकाले शरीरभित्र ब्लेड बाँकी रहेको थाहा पाइएन।
चिकितकहरूले कारण खोज्न एक्स–रे गर्दा उनको छातीको बीच भागमा ठूलो चक्कुको ब्लेड अड्किएको देखियो। आश्चर्यजनक कुरा के भने, उक्त ब्लेडले उनको मुटु, फोक्सो जस्ता कुनै महत्वपूर्ण अंगलाई क्षति पुर्याएको थिएन। पिप भने ब्लेड वरिपरि बनेको घाउकका कारण उत्पन्न भएको थियो।
शल्यक्रियामार्फत ब्लेड, मृत ऊतक र पिप सावधानीपूर्वक निकालियो। त्यसपछि बिरामीलाई २४ घण्टा आईसीयूमा राखेर थप १० दिन सामान्य वार्डमा उपचार गरियो। अहिलेसम्म उनको स्वास्थ्य सुधार सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
वैज्ञानिक पत्रिका नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित यस केस स्टडीअनुसार, मानिसले लामो समयसम्म शरीरभित्र चक्कु वा अन्य धारिलो वस्तु राखेर बाँचिरहेको यो पहिलोपटक होइन । यसअघि पनि कसैले आँखा भित्रै चपस्टिक अड्किएको थाहा नै नपाएको घटना सार्वजनिक भएको थियो।
