काठमाडौ । सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन संसदीय दलमा हस्ताक्षर संकलन सुरु गरेको छ।
आज बिहान आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित पार्टी कार्यालयमा आकस्मिक रूपमा बोलाइएको थियो र हस्ताक्षर प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ। त्यस्तै, कांग्रेसले पनि आफ्ना सांसदहरूलाई दिउँसो १२ बजेसम्म आकस्मिक रूपमा उपस्थित हुन बोलाएको छ भने पार्टी पदाधिकारी बैठक जारी छ।
उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसा अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रलाई आफ्नो पदिय मर्यादा उल्लंघन मानेर सत्तारुढ गठबन्धनले उनलाई महाअभियोग प्रस्तावद्वारा हटाउने तयारी गरेको छ।
रानाले संवैधानिक परिषद्को सदस्य भएर प्रतिनिधित्व गर्दा कांग्रेसको त्यहाँ हाल प्रतिनिधित्व नहुँदा यसअघि पनि उनलाई हटाउने प्रयास भएको थियो।
