दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको बस मज्गै पेट्रोलपम्म नजिक दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गै पेट्रोल पम्प नजिक मंगलबार राति साढे ८ बजे रा १ ख ३२५१ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता बि.क., घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डि।सी। र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेको प्रहरीले जनाएको छ ।
सबैलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बस विद्युतको पोलमा ठोक्किदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालन गरिएको थियो ।
दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
