• Monday 26th of October 2026

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न ओलीलाई बोलाउने थियो तयारी, तर दिएनन् भेट


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार थापागाउँमा रहेको मदन भण्डारी हीरक महोत्सव मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दैछिन्।

दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

मदन भण्डारी हीरक महोत्वसको कार्यालय भनिए पनि उक्त घर पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय रहेको उनीनिकट बताउँछन्।
भण्डारीनिकट नेता कार्यकर्ता हिजोआज त्यहाँ दिनहुँ भेला, छलफल गरिरहेका हुन्छन्। उक्त कार्यालय उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आमन्त्रण गर्न खोजिएको एक नेताले बताए।

ती नेताका अनुसार हीरक महोत्सव समितिका संयोजक डोरमणि पौडेलले निम्तोका लागि प्रधानमन्त्री ओलीको समय मागेका थिए। तर विसञ्चोलाई कारण देखाउँदै ओलीले भेट्न नमानेको ती नेताले बताए।

हामीले यसबारे संयोजक पौडेललाई पनि सोध्यौं।
उनले प्रधानमन्त्रीसँग भेट नभएको बताए।
‘प्रधानमन्त्रीलाई निम्तो दिएको छैन। भेट्ने कुरा त थियो तर प्रधानमन्त्रीको समय कहाँ पाइन्छ!,’ उनले भने।

प्रधानमन्त्रीको सचिवालयले पनि पूर्वराष्ट्रपतिको तर्फबाट निम्ता नआएको बताए।

भेटका सन्दर्भमा भने समय नपाएको हुन सक्ने सचिवालयको भनाइ थियो।
‘प्रधानमन्त्रीको व्यस्त कार्यतालिका छ। दिनमै सयौं जनाले भेट्न समय मागिराख्नुभएको हुन्छ। डोरमणि पौडेलले नपाएको, अरूले पाएको भन्ने होइन। प्रधानमन्त्रीज्यू अस्वस्थ हुनुभएकाले दुई–तीन दिनदेखि कसैसँग भेट्नुभएको छैन,’ सचिवालयले भन्यो।

सम्पर्क कार्यालय उद्घाटनमा पूर्वराष्ट्रपति भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी हुँदैछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖