• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेतालाई पक्राउ गरेको छ।

रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका चितवन कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल पक्राउ परेका हुन्।
कँडेल प्रशिक्षण विभाग प्रमुख रहेको कुरा रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि पुष्टि गरेका छन्। उनले आफ्नो नामको अगाडि डाक्टर लेख्दै आएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई बुधबार चितवनबाटै पक्राउ गरेर रूपन्देही ल्याइएको हो।

उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भएको एसपी क्षेत्रीले बताए।

रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो।

भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको थियो। त्यस्तै विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएका थिए।

यसै गरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला पारेको थियो।
यस्तै जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू पनि बरामद भएका थिए।

बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई बुधबार पक्राउ गरिएको एसपी क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कंडेल चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका छन्। त्यसैको माध्यमबाट नक्कली शैक्षिक प्रमाणपत्रको बनाउने र कारोबार गर्ने गरेको खुलेको छ।

कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए। पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उनी पदका लागि अयोग्य ठहर भएका थिए ।

त्यसपछि उनले चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। उनी उक्त परामर्श केन्द्रका अध्यक्ष हुन्।

नेपाल र भारतका समेत विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर यसअघि अध्ययन तथा कामदारको रुपमा विभिन्न देशमा विद्यार्थी पठाउँदै आएको प्रारम्भिक अनुसन्धान क्रममा खुलेको प्रहरीले जनाएको छ।

कंडेलले अहिले विद्यार्थीहरुलाई त्यसरी नै माल्टा पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ। यसबारेमा दुवैसँग अनुसन्धान भइरहेको एसपी क्षेत्रीले बताए। -भगवती पाण्डे/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖