• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री क्वार्टर नजिकै घरभाडा लिएर धर्म प्रचार अभियान चलाउने अमेरिकी नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरबाट दुई सय मिटर दुरीमा घर भाडामा लिई धर्म प्रचार गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन्।
सोमबार राति अध्यागमन विभागको टोलीले अमेरिकी नागरिक डानियल एस कोरनीलाई पक्राउ गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

कोरनीले मन्त्री क्वार्टरनजिकै एउटा पाँच तले घरमा डेरा लिएका थिए। सबभन्दा माथिल्लो तलामा उनी बस्थे। तल्लो तलामा उनी बालगृह चलाउँथे। त्यहीँबाट कोरनीले इसाई धर्म प्रचारप्रचार अभियान चलाइरहेका थिए।

उनीसँग अरू अमेरिकी नागरिक पनि सहभागी रहेको अध्यागनको भनाइ छ। तर यसबारे यकिन भइसकेको छैन।

विभागका अनुसार उनी सन् २०१५ देखि नै नेपाल आउजाउ गरिरहेका थिए।

पछिल्लो समय उनी लगनखेलको बसपार्कमा उभिएर पनि धर्म प्रचार गरिरहेका थिए। उनले बाइबल पढेर इसाई धर्म प्रचार गरिरहेको भिडिओ विभागको टोलीले पाएको थियो।

उक्त भिडिओ पाएपछि विभागले उनलाई पक्रिन टोली पठाएको थियो।
महानिर्देशक तिवारीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए। अनुसन्धानपछि नेपाल फर्किन नपाउने गरी डिपोर्ट गर्न सकिने उनले बताए।

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डानियल सुरूमा पर्यटक भिसामा आएका थिए। पछि उनले पटकपटक भिसा परिवर्तन गरेको देखिएको थियो।

‘सुरूमा पर्यटक भिसामा रहेका उनी कहिले बिजनेस भिसामा, कहिले स्टडी भिसामा बसेको पाइएको छ,’ ढकालले भने, ‘भैंसेपाटीमै नेपालीहरूसँग मिलेर बालगृह पनि चलाइरहेको र छापाखाना पनि चलाइरहेको पाइएको छ।’

कोरनीले सञ्चालन गरेको बालगृहमा मुगु लगायत जिल्लाबाट ल्याइएका २० जना बालबालिका रहेको र उनीहरूमार्फत पनि इसाई धर्म प्रचार गरेको पाइएको विभागको भनाइ छ।

‘बालबालिका प्रयोग गरेर बाइबल बाँड्ने, पर्चा, पोस्टरहरू टाँस्ने काम गरेको पाइएको छ,’ उनले भने, ‘विश्व भाषा क्याम्पसमा पढ्न भन्दै भर्ना भएका अमेरिकी नागरिकले पढाइ पनि पूरा नगरेको देखिएको छ।’
उनीसँगै अरू थप दुई जना अमेरिकी नागरिक पनि त्यस्तै कार्यमा संलग्न रहेको पाइएको र उनीहरूको पनि खोजी भइरहेको अध्यागमन विभागले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖