नैरोबी । केही दिनअघि केन्यामा एक जना स्पेनी पर्यटकले हात्तीको सुँडमा क्यानबाट बियर खन्याइरहेको भिडियो पोस्ट भएको थियो । यो भिडियो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू निकै क्रुद्ध बनेका थिए ।
भिडियो वन्यजन्तु आरक्षको थियो । भिडियोमा ती पर्यटकले स्थानीय बजारमा लोकप्रिय टस्कर क्यान बियर पिइरहेको अनि बाँकी रहेको बियर हात्तीलाई पिलाइदिएको देखिएको थियो । इन्ष्टाग्राममा पोस्ट भएको भिडियोको क्याप्सनमा ‘दाह्रा भएको साथीसँग एउटा टस्कर’ लेखिएको थियो ।
विशेषगरी केन्यालीहरूले पोस्टमा गाली गर्न थालेपछि सो भिडियो हटाइएको थियो । भिडियो फुटेज विश्लेषण गर्ने क्रममा यो सक्कली भएको आफूले पाएको भन्दै बीबीसीले समाचारमा लेखेको छ ।
भिडियो हेर्दा यो लाइकिपिया काउन्टीको अल जोगी अन्सर्भेन्सीमा खिचिएको जस्तो देखिने बताइएको छ । यो भिडियोलाई सम्बन्धित निकायसम्म पुर्याइएको सो वन्यजन्तु आरक्षका एक कर्मचारीले भनेका छन् । ‘यस्तो कहिले हुनु हुँदैनथ्यो, हामी त संरक्षण गर्न बसेका हौँ, हामी यस्तो गतिविधिलाई अनुमति दिँदैनौँ,’ फ्र्याङ्क नाम गरेका एक कर्मचारीले भने ।
आफूहरूले कुनै पनि आगन्तुकलाई हात्तीको नजिक जान समेत अनुमति नदिएको उनले बताएका थिए । यो घटनामाथि केन्याको वन्यजन्तु सेवाले छानबिन गरिरहेको छ । स्पेनी पर्यटक भनिएका ती व्यक्तिले सामाजिक सञ्जालमा आफ्नो नाम लेखेका छैनन् ।
मङ्गलवार इन्ष्टाग्राममा पोस्ट भएको अर्को भिडियोमा ती व्यक्तिले दुई वटा हात्तीलाई गाजर खुवाइरहेको देखिन्छ । त्यसपछि उनले ‘अब बियरको समय’ भनेको सुनिन्छ । भिडियो डिलिट हुनु अघि कयौँ युजरले कमेन्टमा ती व्यक्तिको ‘डिपोर्टेशन’ को माग गरेका थिए ।
