काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रचण्डले शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र हालको संविधानको धारा ३०४(२) तत्काल कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
यसैगरी उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसमा बेपत्ता योद्धाहरूको योगदानको स्मरण गर्दै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपाल’ लाई बेपत्ता व्यक्तिहरूको खोजी तथा अन्य आवश्यक कार्य प्रभावकारी रूपमा अघि बढाउन पनि शनिबार फेसबुकमार्फत आह्वान गरेका छन्।
