फ्लोरिडा । फ्लोरिडा राज्यकी ३५ वर्षीय इमेलि मार्टिनेजलाई अनधिकृत दन्त उपचार गरेर विरामीको स्वास्थ्य बिगारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मार्टिनेजले सामाजिक सञ्जालमार्फत आफूलाई ‘स्माइल मेकओभर एक्सपर्ट’ भनेर प्रस्तुत गर्दै अत्यन्तै सस्तो मूल्यमा भिनियर उपचार गर्ने प्रलोभन दिएर ग्राहकहरूलाई आकर्षित गर्ने गर्थिन् । सामान्यतया एक दाँतमा भिनियर गर्न ९०० देखि १,५०० अमेरिकी डलरसम्म लाग्ने भए पनि उनले २,५०० डलरमै पुरै मुखमा भिनियर गर्ने प्रस्ताव दिएकी थिइन् ।
तर, मार्टिनेजले पिनेलस पार्कस्थित आफ्नै पसलमा कुनै औपचारिक तालिम वा अनुमति बिना काम गर्दै दाँतमा बजारमा पाइने ‘क्रेजी ग्लु’ जस्तो सुपर ग्लु प्रयोग गर्ने गरेको तथ्य फेला परेको हो । यस कारण उनका ग्राहकहरू गम्भीर संक्रमण र असह्य पीडामा परेका थिए ।
दुई जना पीडितले गुनासो दर्ता गरेपछि घटनाबारे अनुसन्धान हुँदै उनको ठगीको पर्दाफास भएको हो । एक पीडितलाई त आपतकालीन शल्यक्रिया गरेर मात्र क्षति मर्मत गर्न सकिएको थियो । मार्टिनेजले पैसा फिर्ता दिन अस्वीकार गर्ने मात्र नभई आफू निर्दोष भएको पनि दाबी गरेकी थिइन् ।
पिनेलस पार्क प्रहरी विभागका सर्जन्ट विन्डी भाटरले भने, ‘उनी भिनियर लगाउने लाइसन्स प्राप्त व्यक्ति होइनन् । त्यसका लागि कुनै अध्ययन वा अनुमति छैन । फ्लोरिडामा यस्तो काम गर्न कानुनी लाइसन्स अनिवार्य छ ।’
मार्टिनेजलाई यसअघि पनि यसै वर्षको मार्च महिनामा अर्कै काउन्टीमा अनधिकृत दन्त सेवा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई अहिले ठगी र लाइसन्सबिनाको दन्त उपचार गरेको अभियोगमा मुद्दा चलाइने भएको छ ।
फ्लोरिडामा यसअघि पनि यस्ता घटना भइरहेका छन् । केही वर्षअघि १८ वर्षीय मलाची लभ–रोबिन्सनलाई वेस्ट पाम बीचमा नक्कली मेडिकल क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
