• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री हाङ्गामले सचिव चढ्ने गाडीको चाबी नै खोसेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं— बेलाबेला विवादमा आइरहने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चाबी खोसेका छन् ।

आफूलाई असहयोग गरेको भन्दै हप्कीदप्की गर्दै पाण्डे सोमबार कार्यालय पुग्नेबित्तिकै चालकलाई बोलाएर उनले चाबी खोसेका हुन् । सचिव पाण्डेको दुई साताअघि सरुवा भएको थियो । उनले रमाना भने लिएका थिएनन् । भदौ १३ गतेको क्याविनेटले उनलाई पुन यही मन्त्रालयमा सरुवा गरेको थियो ।

आफू अनुकूलको सचिव ल्याउने तयारी गरिरहेका मन्त्री हाङ्गामले पाण्डेको मन्त्रालयमै थमौती भएपछि गाडीको चाबी खोसेको स्रोतले बतायो । उनले चालकहरूलाई भेला पार्दै कसैले सचिव बोके कारबाही हुने धम्कीसमेत दिएका छन् ।

सचिव पाण्डेले आफ्नो सवारीको चाबी खोसिएको बताए ।

‘मसँग मन्त्रीज्यूबीच केही विवाद छैन । चालकबाट चाबी खोस्नुभएछ’, पाण्डेले भने ।

गत जेठमा पनि बजेट निर्माणमा आफूलाई नसोधी प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै हाङ्गामले सचिवसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।

केही दिनअघि करारका चालक हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने उनको प्रयास अस्वीकार गरेपछि सचिव पाण्डेसँग विवाद बढेको मन्त्रालय स्रोत बताउँछ । पछि विवाद भएको हो ।

यसअघि पनि मन्त्री हाङ्गामले पदमा बहाल भएकै बेला पाथीभरा क्षेत्र विकास समितिका सभापतिलाई ताप्लेजुङमै कुटपिट गरेका थिए । उनका समर्थकहरूले ताप्लेजुङमै केही दिनअघि मात्रै वडाअध्यक्षलाई कुटपिट गरी घाइते बनाइएको थियो ।

मन्त्री हुनुअघि ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख राजन लिम्बू र उनको परिवारको ज्यान लिने धम्की दिएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖