• Tuesday 27th of October 2026

सरकारले भन्योः भोलिदेखि फेसबुक लगायत अन्य सामाजिक सञ्‍जाल क्रमशः निष्क्रिय पारिने


  • धनकुटा खबर
  • .

काठमाडौँ- सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक लगायत अन्य सामाजिक सञ्जाललाई भोलिदेखि निष्क्रिय पार्ने भएको छ । मन्त्रिपरिषदले निर्णय गरिसकेको हुनाले भोलिदेखि निष्क्रिय पारिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालले जानकारी दिए ।

‘आज मन्त्रालयमा मन्त्री ज्यूको उपस्थिति नभएकाले छलफल हुन पाएन । गम्भीर छलफल गरेर भोलिबाट क्रमशः फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल निष्क्रिय पार्दै लगिन्छ,’ सूचना अधिकारी पौड्यालले इकागजसँगको संवादमा भने । मन्त्रिपरिषदले निर्णय गरिसकेकाले कार्यान्वयनमा आउने उनले जिकिर गरे । उनका अनुसार साँझसम्म कुनै पनि सामाजिक सञ्जालले निवेदन दिएका छैनन् । मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरिसकेको छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको थियो । सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० अनुसार सरकारले यस्तो कदम चाल्न लागेको हो । निर्देशिकाले सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनका लागि दर्ता अनिवार्य गरेको छ।

मन्त्रालयका अनुसार सूचीकरण भएपछि मात्र कुनै पनि सामाजिक सञ्जाल नेपालमा विधिवत् रूपमा सञ्चालन गर्न पाइनेछ । तर, तोकिएको समयसीमा सकिँदासम्म दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइनेछ । दर्ता गर्न ढिलो गरे पनि जब दर्ता प्रक्रिया पूरा हुन्छ । त्यति बेलाबाटै पुनः सक्रिय गर्न सकिने मन्त्रालयको तयारी छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् ।

भाइबर, बिटक, टिकटक, निम्बजलगायत रहेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖