• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालिकालाई ठक्कर दिएको गाडीमा सवार मन्त्री भन्छन्– कुटाइ खाने डरले गाडी रोकिनँ !


  • धनकुटा खबर
  • .

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बालिकालाई ठक्कर दिएपछि ‘कुटाइ खाने डरले’ गाडी नरोकी भागेको बताएका छन् ।

शनिबार बिहान ललितपुरको हरिसिद्धिमा आफू सवार सरकारी गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएर भागेको घटनाको बचाउ गर्दै मन्त्री मगरले यस्तो तर्क गरेका हुन् ।

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाने क्रममा शनिबार बिहान सवा ७ बजे मन्त्री मगर सवार को १ झ ६९९ नम्बरको गाडीले हरिसिद्धि माध्यमिक विद्यालय अगाडि जेब्रा क्रसिङबाट बाटो काट्न लागेकी बालिका उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो ।

सीसीटीभी फुटेजमा देखिएअनुसार ठक्करपछि बालिका सडकमा ढले पनि मन्त्री सवार गाडी नरोकी हुइँकिएको थियो । गाडीको पछाडि मोटरसाइकलमा आइरहेका एक व्यक्तिले बालिकालाई उठाएर अस्पताल पुर्‍याएका थिए ।

दुर्घटनामा परेकी बालिकालाई तत्काल उद्धार नगरी भाग्नुको कारणबारे सोधिएको प्रश्नमा मन्त्री मगरले भने, ‘नचिनेको ठाउँमा गाडी रोक्दा आक्रोशित स्थानीयले मलाई हातपात गर्ने र गाडीमा समेत तोडफोड गर्ने भएकाले नरोकेको हो । नचिनेको ठाउँमा रोकेको भए कुटाइ खान सकिन्थ्यो ।’

प्रहरीले मन्त्री मगर सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको थियो । मन्त्री मगरले पछि अस्पताल पुगेर बालिकाको अवस्थाबारे जानकारी लिएको बताएका छन् । उनले बालिकाको उपचारका लागि १८ हजार रुपैयाँ र अन्य केही सहयोग गरेको दाबी गरेका छन् ।’

अहिले मैले व्यक्तिगत रूपमा सबै सहयोग गरेको छु, अध्यक्ष केपी शर्मा ओलीले उपचार खर्च व्यहोर्न भन्नुभएको छ, अब थप सल्लाह हुन्छ,’ उनले भने ।

घाइते बालिका बी एन्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖