• Friday 9th of October 2026

पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार


  • धनकुटा खबर
  • .

हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ दम्पतीमाथि चरम अत्याचार भएको छ । जंगलनजिक एकान्तमा रहेको सानो छाप्रोमा खुशी र भविष्य खोजिरहेको दम्पतीमाथि अत्याचार भएको समाचार ढिलोगरी बाहिर आएको हो ।

बिहीबार राति छाप्रोमा बसिरहेका मकवानपुर १ (नाम परिवर्तन)दम्पतीमाथि चरम अत्याचार भएको हो । मकवानपुर १ लाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी उनकी पत्नीमाथि बलात्कार भएको हो ।

भदौ २६ गते राति यस्तो घटना भएको खबर आएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले बताए । उनले भने, ‘भोलिपल्ट खबर आएपछि जाहेर गरेका थियौँ, जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई समात्ने प्रयास भइरहेको उनले बताए ।

मकवानपुर १ का दम्पती नै राम्रो बोल्न पनि सक्दैनन् । उनीहरुको आफ्नै घर पनि छैन । काम पनि नपाएपछि पत्नी र उनी भोकै रहेको खबरपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले केही मद्त गरेको थियो ।

‘राक्सिराङ्ग गाउँपालिका वडा नम्बर १ का मकवानपुर १ को आर्थिक अवस्था दयनीय रहेको र पत्नी सुत्केरी रहेको थाहा पाएपछि केही राहत दिएका थियौँ,’ अध्यक्ष राजकुमार मल्लले भने, ‘चामल, दाल, तेल, नून, त्रिपाल र कम्बल प्रदान गरेका थियौँ, यस्तो परिवारमाथि पनि वज्रपात भएछ, अमानवीय व्यवहार भएछ ।’

मल्लले विषम परिस्थितिका कारण प्रहरी गाउँ जान नसक्दा घटनाका आरोपी गाउँमा बसिरहेको खबर आएपछि वडाध्यक्षमार्फत जानकारी लिएको र जिल्ला प्रहरीमा भनेर अभियुक्त समात्न प्रहरी पठाइएको बताए ।

‘डाँडा वारि–पारीकै अभियुक्तले यो कुकर्म गरेको भनेर खबर आएको छ, ४२ वर्षीय अन्तरे थिङले नै बलात्कार गरेको भनिएकाले नियन्त्रणमा लिन प्रहरी परिचालन भएको छ,’ राक्सिराङ प्रहरी चौकीका इन्चार्ज सिंहले भने, ‘रुखमा बाँधेर पत्नीमाथि कुकर्म गरिरहँदा अभियुक्तले उल्टै मकवानपुर १ लाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको मकवानपुर १ ले वडाध्यक्षसँग भनेका रहेछन् ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖