• Friday 9th of October 2026

कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकको त्यो अन्तिम कल, ४ तलामा ट्रयापमा परेँ, बुबा !


  • धनकुटा खबर
  • .

काठमाडौँ । कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् ।

जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले बताए ।

ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौँ–३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए । चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए ।

आगोको लप्काको कारण ओर्लिन नसक्ने भएपछि उनले बुवालाई फोन गरेर भने, ‘बुबा, म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ ।’

त्यो कल उनको अन्तिम कल थियो । प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ । मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिए ।

बुधवार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो । शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका बुवा पूर्णबहादुर रसाइली प्रहरीको सम्पर्कमा गएका छन् । -रातोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖