• Friday 9th of October 2026

नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका रास्वपा नेता कँडेल जेल चलान


  • धनकुटा खबर
  • .

रुपन्देही । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए । कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको थियो ।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । रुपन्देही अदालतले यसको पुष्टि गरेको छ । न्यायधीश डिल्लीराम अर्यालकोको इजलासमा कंडेल थुनामा गएका हुन् ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गर्दा उनको साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसमेत फेला परेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरेर रुपन्देही ल्याएसँगै प्रहरीले अनुसन्धान गरेर उनको मुद्दा अघि बढाएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले रुपन्देही अदालतले उनलाई पुपक्र्षको लागि थुनामा पठाएको जनाए ।

केही दिनअघि यो आदेश आएपनि जिल्ला अदालतमा जेनजी आन्दोलनका क्रममा धेरै सामग्री जलेका कारण यो बाहिर आएको छैन । उनी पक्राउ परेसँगै रास्वपाले पार्टीबाट निलम्बन गरेका थियो । भदौ ४ गते पक्राउ परेका कंडेल ५ गते नै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖