काठमाडौं — पूर्व सांसद सुमना श्रेष्ठले जेन-जी आन्दोलनपछि पनि कुनै शीर्ष नेताले पदत्याग नगरेको, आत्मलोचना नगरेको वा जनतालाई माफी नमागेको भन्दै आलोचना गरेकी छन्। उनले सोमबार फेसबुकमार्फत यस्तो टिप्पणी गरेकी हुन्।
श्रेष्ठले आन्दोलनका क्रममा युवा सडकमा आउनुका कारणहरूलाई बेवास्ता गर्दै नेताहरूले ‘गोली अरुले चलाएको’ वा ‘घुसपैठ भएको’ जस्ता कारण देखाएर मूल मुद्दाबाट ध्यान मोड्न खोजेको आरोप लगाइन्।
उनले लेखेकी छन्, “मूल प्रश्न त सेप्टेम्बर ८ मा किन यति धेरै युवा सडकमा उत्रिए भन्ने हो, के कारणले असन्तुष्टिको आगो चुलियो भन्ने हो, यसको समीक्षा गर्नुपर्ने हो।”
उनका अनुसार नेताहरूको दम्भ अझै सकिएको छैन। “जेन-जीलाई आतङ्ककारी भन्न भ्याए, जलेको पैसा नक्कली थिए भन्न थाले, युवाहरूको ज्यान गयो, मान्छेहरूले घर घेरे, व्यवसाय जले, तर अझै चेत खुलेको छैन,” उनले पोस्टमा उल्लेख गरेकी छन्।
श्रेष्ठले जेन-जी आन्दोलनलाई मत विभाजन गरेर कमजोर पार्ने प्रयास भइरहेको चेतावनी दिँदै आगामी चुनावमा परिवर्तन चाहने मतहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताइन्। उनले भनेकी छन्, “को असली जेन-जी, को विदेशीको गोटी भनेर फुटाउने काम भइरहेको छ। भाइ फुटे गवार लुटे भन्ने अवस्था नआओस्। यसपालिको मतवृष्टि थाप्ने भाडो एउटै बनोस्।”
