• Friday 9th of October 2026

कांग्रेस नेता रुंगटाको घरमा आगजनी हुँदा घाइते महिला मजदुरको मृत्यु


  • धनकुटा खबर
  • .

वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज मृत्यु भएको छ।

पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा १३ दिनसम्मको उपचारपछि निधन भएको हो। उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।

गत भदौ २४ गते जेनजी समूहले रुंगटाको घरमा आगजनी गर्दा घर पूर्ण रूपमा ध्वस्त भएको थियो। आगलागीका बेला घरभित्र काम गरिरहेका मजदुरहरू फसेका थिए। स्थानीयको सहयोगमा अधिकांश मजदुरलाई सकुशल बाहिर निकालिए पनि हजरा र अर्का एक भारतीय मजदुरलाई निकाल्न ढिलाइ भएको थियो।

प्रहरीका अनुसार, हजरा रुंगटाको घरको दोस्रो तल्लामा फसेकी थिइन्। सुरुमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गरिए पनि उनको अवस्थामा सुधार नआएपछि काठमाडौं रेफर गरिएको थियो। तर, त्यहाँ पनि उनको ज्यान बचाउन सकिएन।

यसै घटनामा हजरासँगै गम्भीर घाइते भएका भारतको बिहार राज्य, सुगौलीका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। उनको पनि शरीरको ५० प्रतिशत भाग जलेको भए पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताएका छन्।

आगजनीका क्रममा रुंगटाको घरको परिसरमा रहेका अन्य चारवटा घरमा समेत तोडफोड र लुटपाट भएको कांग्रेस नेता रुंगटाले जानकारी दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖