भारत। हिमाचल प्रदेशको सिरमौर जिल्लामा एक सरकारी विद्यालयका शिक्षकलाई चेकमा गलत अङ्ग्रेजी लेखेको कारण निलम्बन गरिएको छ। चेकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षा विभागले शिक्षकलाई कारबाही गरेको हो।
सिरमौरको सरकारी माध्यमिक विद्यालय, रोनहाटमा कार्यरत चित्रकला शिक्षक अत्तर सिंहले २५ सेप्टेम्बरमा ७ हजार ६१६ रुपैयाँको चेक जारी गरेका थिए। तर उनले उक्त रकमलाई अङ्ग्रेजीमा ‘Saven Thursday Six harendra sixtey’ लेखेका थिए, जसले सबैलाई अचम्ममा पार्यो।
चेकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना ‘ट्राेल’ काे विषय बनेको थियो। सञ्जालमा उक्त विषय भाइरल भएसँगै जिल्ला शिक्षा कार्यालयले तत्कालै छानबिन सुरु गर्यो। प्रारम्भिक प्रतिवेदनमा शिक्षकद्वारा लेखिएका सबै शब्दहरू गलत रहेको र यसले विभागको छवि धूमिल गरेको उल्लेख गरिएको छ।
रिपोर्टका आधारमा राज्य विद्यालय शिक्षा विभागले शनिबार अत्तर सिंहलाई निलम्बन गर्ने निर्णय गरेको हो। आदेशमा भनिएको छ कि उक्त कार्यले राज्य सरकार र शिक्षा विभागलाई जनसमक्ष असहज स्थिति सिर्जना गरेको र विभागको प्रतिष्ठामा आँच पुर्याएको छ।
शिक्षक अत्तर सिंह प्रधानमन्त्री पोषण योजनाका इन्चार्जका रूपमा कार्यरत थिए। उनले स्पष्टीकरण दिँदै भनेका छन्, ‘त्यो समय मानसिक रूपमा अलमलिएको कारणले गल्ती भएको हो, मेरो ध्यान अन्यत्र गएको थियो।’
निलम्बन अवधिमा उनको कार्यस्थल सरकारी माध्यमिक विद्यालय हरिपुरधार (सिरमौर) तोकिएको छ। साथै, विद्यालयका प्राचार्यले पनि सो चेकमा हस्ताक्षर गरेको कारण विभागले उनीमाथि पनि कारबाही गर्ने तयारी गरेको जनाएको छ।
