• Friday 9th of October 2026

रामनारायण बिडारीको पीडा: “लगाएको गन्जी र हाफपाइन्ट बाहेक सबै भष्म भयो”


  • धनकुटा खबर
  • .

काठमाडौ । जेनजी आन्दोलनका क्रममा देशभर आक्रोश फैलिँदा केही यस्ता मानिस पनि क्षतिग्रस्त भए, जो कहिल्यै सत्तामा पुगेका थिएनन् र न त भ्रष्टाचारमा मुछिएका थिए। तीमध्ये एक हुन् पूर्व सांसद र कानुन व्यवसायी रामनारायण बिडारी।

रूपचन्द्र विष्टको “थाहा आन्दोलन” बाट राजनीतिक यात्रा सुरु गरेका बिडारी करिब ५० वर्षदेखि राजनीतिमा छन्, तर कहिल्यै मन्त्री बनेका छैनन्। उनका अनुसार, भदौ २३ को घटनामा उनका साढे दुई तल्ले घरसहित सम्पूर्ण सम्पत्ति जलाएर खरानी बनाइयो।

“तीन घण्टा मेरो घर जलाइँदै गर्दा मैले एउटा सियो पनि निकाल्न पाइनँ,” बिडारीले नेपाल प्रेससँग भने, “अब म आफन्तको घरमा बसिरहेको छु, लगाएको गन्जी र हाफपाइन्ट बाहेक केही बाँकी छैन।”

बिडारीले भने, “म भ्रष्टाचारी होइन, कहिल्यै सत्तामा पुगेको छैन। एकपटक पनि मन्त्री नबनेको मलाई किन टार्गेट गरियो, अचम्ममा परेको छु।” उनका अनुसार, आक्रमणकारीहरूले ‘प्रचण्डको दलाल रामनारायण बिडारी मुर्दावाद’ भन्दै घरमा आगजनी गरेका थिए।

बिडारीको घरमा रहेको दुर्लभ पुस्तकहरूले भरिएको लाइब्रेरी पनि खरानी भएको छ। उनले भने, “सबैभन्दा ठूलो क्षति त मेरो ज्ञानको घर खरानी हुनु हो।”

अहिले बिडारी र उनका परिवारका सदस्यहरू अलग–अलग आफन्तकोमा बसिरहेका छन्। उनले भने, “अब डेरा खोजेर बस्नुपर्ला। क्षतिपूर्तिको आशा त छैन, तर जिन्दगी चलाउन त केही उपाय खोज्नैपर्छ।”

बिडारीले अन्त्यमा भने, “जेनजी आन्दोलनको म समर्थन गर्थें, निर्दोष युवाहरूको हत्या भएकोमा आवाज उठाएको थिएँ। तर आज म आफैं पीडित बनेँ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖