• Friday 9th of October 2026

कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका अध्यक्ष सुना सुवेदी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । दर्ता नभएको नक्कली औषधि बेचबिखन गरेको कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । सुवेदी सर्लाही जिल्ला, साविक ईश्वरपुर गाविस–४ की स्थायी बासिन्दा हुन् ।

हाल उनी काठमाडौं शंखमुलमा बस्दै आएकी थिइन् । पक्राउ परेकी सुवेदीमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

पशु सेवा विभाग अन्तर्गत आयात-निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन, ललितपुरबाट कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स, काठमाडौंलाई पशुपंक्षी फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइण्डर आदि आयात गर्न सिफारिस पत्र जारी गरिएको थियो ।

तर उक्त सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका Flocure 10%, Florlutin 45 %, Binodox, Levoflox BH, Piperazine लगायतका औषधिहरूको विवरण देखाउँदै विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको पाइएको छ।

सोही आधारमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालि विरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मिति २०८२ असोज २४ गते सुवेदीलाई काठमाडौं महानगरपालिका–३१, शंखमुलबाट पक्राउ गरिेएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖