• Friday 9th of October 2026

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित रंगेहात पक्राउ


  • धनकुटा खबर
  • .

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बोडे निवासी ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८५० रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो। उनले अस्पतालसँग कारोबार गर्ने विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस असुल्ने गरेको आरोप छ।

अख्तियारको टंगालस्थित मुख्यालयबाट खटिएको टोलीले दाहाललाई घुस रकम कार्यकक्षमा लुकाउँदै गर्दा नियन्त्रणमा लिएको हो। साथै, उनीसँगबाट एकवटा मोबाइल र सम्बन्धित कागजातहरू समेत बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियारले दाहालमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गर्ने तयारी गरेको छ। वीर अस्पतालको आर्थिक प्रशासन शाखामा भएको यो कारबाहीले स्वास्थ्य क्षेत्रमै चल्दै आएको घुस संस्कृतिप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖