• Friday 9th of October 2026

‘पत्रकार हुँ’ भन्दै प्रहरीलाई गालीगलौज र धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

‘पत्रकार हुँ’ भन्दै प्रहरीलाई गालीगलौज र धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति हुन् — ३८ वर्षीय मनोज मानव (मनोज महतो), लहान नगरपालिका–२४ सिरहा घर भई हाल काठमाडौंकीर्तिपुर–२ बसोबास गर्दै आएका।

महतोले सोमबार १०० नम्बरमा फोन गरेर प्रहरीलाई अपशब्द र धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। उनले आफू पत्रकार भएको दाबी गर्दै ड्युटीमा खटिएका प्रहरी र डीएसपी डम्बरबहादुर पुरीलाई समेत फोनमा गाली गरेका थिए।

डीएसपी पुरीका अनुसार महतोले प्रहरीमाथि दुर्व्यवहार गरेपछि राजविराज–५ बाट उनलाई पक्राउ गरिएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार मनोज महतोलाई यसअघि पनि विद्युतीय कारोबारसम्बन्धी कसूर, अभद्र व्यवहार, अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दा, तथा सार्वजनिक अपराधमा पटक–पटक पक्राउ परिसकेको छ।

“अघिल्ला मुद्दाहरूमा कारबाही भइसकेको व्यक्ति अहिले फेरि प्रहरीलाई धम्क्याउने र अपशब्द प्रयोग गर्ने कृत्यमा संलग्न भएको देखिएको छ,” डीएसपी पुरीले भने।

प्रहरीले भने, “जनसेवामा खटिएका प्रहरीमाथि यसरी दुर्व्यवहार गर्ने कसैलाई पनि उन्मुक्ति दिइँदैन, अनुसन्धानपछि कानूनी कारबाही हुनेछ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖