• Friday 9th of October 2026

किन भइरहेको छ सुन-चाँदीको मूल्यमा तीव्र उतारचढाव?


  • धनकुटा खबर
  • .

काठमाडौं। विश्व बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ ।

यो ६ घण्टामा सुनको मूल्य प्रति ट्रोय औंस (लगभग ३१.१० ग्राम) ४०६२ डलरको विन्दुमा झरेको देखिएको छ । पछिल्लो ६ घण्टामा सुनको मूल्य उच्चतम् ४१६० डलरसम्म पुगेको थियो ।

यसअघि लगातार दुई महिनाभित्र सुनको मूल्य २५ प्रतिशतले बढेको थियो। यही कारण मंगलबारको गिरावटलाई धेरैले ‘ढिलो आएको तर अपरिहार्य सुधार’ का रूपमा व्याख्या गरेका छन्।

चाँदीको मूल्यमा समेत उतारचढाव भइरहेकै छ। पछिल्लो ६ घण्टाको अवधिमा चाँदी ४८ डलर प्रतिऔंससम्म झरेको थियो । सबैभन्दा बढी ४९.३० डलरमा पुगेको थियो ।

विश्लेषकहरूले मंगलबारको मूल्य घटनुका तीन प्रमुख कारण बताएका छन्। पहिलो- अमेरिकी डलरमा पुनरुत्थानका संकेत देखिनु, दोस्रो- अमेरिका-चीनबीचको व्यापार तनाव घट्ने सम्भावना र तेस्रो- लगानीकर्ताहरूले उच्च मूल्यबाट मुनाफा लिन थालेको अवस्था।

डोनाल्ड ट्रम्प प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिएको छ। यसले सुरक्षित सम्पत्तिप्रतिको आकर्षण घटाएको छ। त्यसैगरी विश्व बजारमा सरकारी ऋण नियन्त्रण र ब्याजदर वृद्धिको अपेक्षाले पनि सुनको माग घटाएको बताइन्छ। सुनको मूल्यमा आएको ठूलो उतारचढावलाई बजारले आवश्यक ‘सुधार’का रूपमा हेरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖