डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया शिक्षिका जानकी खड्का मृत फेला परेकी छिन्। उनको मृत्यु प्रकरणमा प्रहरीले विद्यालय निरीक्षक गणेश रावललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी दीपेन्द्र पालका अनुसार मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा रावललाई पक्राउ गरिएको हो। रावल शिक्षा तथा समन्वय इकाइ डोटीमा कार्यरत थिए।
खड्का बाजुराको भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका थिइन्। सोमबार घरबाट सम्पर्कविहीन भएकी उनी झण्डै ७०० मिटर दूरीमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रहरीका अनुसार खड्का र रावलबीच सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र प्रेमसम्बन्ध विकसित भएको थियो। त्यही सम्बन्धका कारण खड्काले मानसिक तनाव भोगेकी र त्यही कारण आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
खड्काको सुसाइड नोट पनि बरामद गरिएको छ। मोबाइल कभरको पछाडि भेटिएको नोटमा उनले लेखेकी छन् —
“अरूको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सकिनँ। आमाबुबाको इज्जत गुमाएर बाँच्न सक्दिनँ।”
उक्त नोटमा उनले रावलले सामाजिक सञ्जालबाट आफैं सम्पर्क गरेर नाटक गर्दै फसाएको आरोप लगाएकी छिन्।
परिवारका अनुसार रावलले पहिले नै विवाह गरेर सन्तानसहित सम्बन्धविच्छेद गरेका थिए, तर खड्कामाथि विवाहको दबाब दिइरहेका थिए।
मृत शिक्षिका सरकारी सेवा प्रवेश गरेकी स्थायी गणित शिक्षिका र परिवारकी जेठी सन्तान थिइन्। भाइ प्रदीप खड्काका अनुसार बुवा-आमा बिरामी रहेका र परिवारको मुख्य सहारा दिदी नै थिइन्।
“दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ,” उनले भने।
प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
